वरिष्ठ समाजशास्त्री चैतन्य मिश्रले नेपालको पूँजीवादी रूपान्तरणलाई बुझ्नको निम्ति निकै महत्वपूर्ण योगदान गर्नुभएको छ। नेपाली समाजलाई अर्ध-सामन्ती भनेर व्याख्या गर्ने नेपाली शास्त्रीय माओवाद र “मार्क्सवाद-लेनिनवाद” भनेर भ्रष्टिकरण गरिएको स्टालिनपन्थलाई चुनौती दिँदै वहाँले नेपाली समाज कसरी पूँजीवादी भइसक्यो भनेर लामो समयदेखि आफ्ना विचारहरु प्रस्तुत गर्दै आउनुभएको छ र नेपालको वर्ग-चरित्रको व्याख्याबारे नेपाली मार्क्सवादमा व्याप्त जडतालाई राम्रोसँग चिर्नुभएको छ। तर यस क्षेत्रमा वहाँको योगदान यतिमै सिमित हुन पुगेको छ।
केही समयदेखि वहाँका केही विचारले नेपाली बौद्धिक र खासगरी मार्क्सवादी खेमामा ठूलो तरंग पैदा गरिदिएको छ। यो तरंगको श्रोत पछिल्लो समयका वहाँका केही अन्तर्वार्ता र लेखहरु रहेका छन् जहाँ वहाँले आफ्नो मार्क्स र मार्क्सवादसम्बन्धी अहिलेसम्मको बुझाइलाई गलत मानी वहाँको अनुसार भ्रष्टिकृत मार्क्सवादी बुझाइको दोष लेनिन र माओ, खासगरी लेनिनलाई दिनुभएको छ र “वास्तविक मार्क्सवाद” सम्म पुग्न मार्क्सको पुन: अध्ययनको खाँचो औँल्याउनुभएको छ। यसप्रति मुख्यतः दुई खालका प्रतिक्रिया आएका छन् – पहिलो त प्रो. मिश्रका विचारहरूप्रति मौन समर्थन भने दोश्रो खाले प्रतिक्रिया यस्तो छ कि मानौं मिश्रले नयाँ प्रश्नहरू उठाएर कुनै पाप गर्नु भएको छ र यस्ता खाले बहसमाथि बन्देज लगाउने गरी बहसको औचित्यमाथि नै प्रश्न उठाइएको छ। यी दुईखाले प्रतिक्रिया बाहेक प्रदीप गिरीको एउटा निकै राम्रो टिप्पणी पनि आएको छ, जसले केही कमीकमजोरीका बावजूद चैतन्य मिश्र र आफूलाई मार्क्सवादी (पुच्छर वा बिना पुच्छरका) भन्न रुचाउने अन्यलाई आफ्नो मार्क्सवाद र आफूले प्रयोग गर्दै आएको भनेर मानिरहेको मार्क्सवादी पद्धतिमाथि पुनर्विचार गर्न झकझकाएको छ।
मिश्रका नयाँ दावा र तिनमाथि आएका मुख्यतः दुईथरीका प्रतिक्रिया एकअर्काभन्दा भिन्न छन्। तर यी तिनैथरी विचारहरुको उद्भव-स्थल भने एकै छन्, जुन मिश्रको आफ्नै एक स्वीकारोक्तिले पनि इंगित गर्छ। वहाँले एक अन्तर्वार्तामा भन्नुभएको छ कि अहिलेसम्मका वहाँको मार्क्सवादसम्बन्धी बुझाइका लागि मस्को र बेइजिङबाट प्रकाशित हुने सामाग्रीमाथि भर पर्नु परेको कारण वहाँको बुझाइ सीमित वा गलत थियो। यो कुरा मिश्रमात्र होइन, प्राय सबै नेपाली मार्क्सवादीहरुमा लागु हुन्छ। नेपाली मार्क्सवादी क्षेत्रमा वैचारिक विमर्श र वैचारिक मन्थन एउटा साघुँरो घेराभित्र मात्रै हुने गरेको छ। नेपाली मार्क्सवादको जन्म जुन समयमा भएको थियो र विश्व कम्युनिस्ट कम्युनिस्ट आन्दोलन, खासगरी नेपाली मार्क्सवादी आन्दोलनको उठानमा महत्वपूर्ण पक्ष रहेको भारतीय कम्युनिस्ट आन्दोलनमा त्यसबेला स्टालिनपन्थको जुन प्रभाव थियो, ती सबै कारण, र पछि उदाएको माओवादको जुन छत्रछायाँमा नेपाली मार्क्सवाद हुर्किएको थियो, त्यस्तो अवस्थाले मार्क्सवादसम्बन्धी नेपाली बुझाइलाई एउटा सीमिततामा राखेको थियो, जसको कारण विश्व मार्क्सवादी आन्दोलनका अन्य प्रभावशाली व्यक्तित्वहरू वा तिनीहरूसँग सम्बन्धित धेरै विचार-सिद्धान्तबाट हामीहरू वञ्चित भयौँ, जसले मार्क्ससम्बन्धी हाम्रो बुझाइमा असर गर्यो। धेरै समयसम्म शिक्षाबाट वञ्चित रहेको नेपाली समाज त्यसैको परिणामस्वरूप एउटा जीवन्त बौद्धिक समाजको कमीले पनि पक्कै सहयोगी भूमिका खेलेन। यसले हाम्रो मार्क्सवादसम्बन्धी बुझाइ र त्यसको आलोचनामार्फत आउने नयाँ विचारहरूलाई अझैसम्म पनि त्यो साघुँरो घेराभित्र नै कैद गरेको छ, जसबाट चैतन्य मिश्र पनि अपवाद हुनुहुन्न।
अब एकपटक हामी प्रो. मिश्रका मुख्य दावाहरुतर्फ जाउँ। तिनलाई मुख्यतः यस प्रकार संश्लेषण गर्न सकिन्छ:
१) रूसी र चिनियाँ प्रभावमा बुझ्ने गरिएको मार्क्सवाद त्रुटिपूर्ण छ।
२) १९१७ सम्म मार्क्सवाद लगभग एउटा सही ट्र्याकमा थियो, तर लेनिनले हतारमा समय आउनुपूर्व नै रुसमा समाजवादी क्रान्ति गरे र मार्क्सवादले त्यही समयदेखि बाटो बिरायो।
३) पूँजीवाद मृत्युशैयामा रहेको लेनिनको दावा गलत थियो, किनभने विगत सय वर्षमा सोभियत संघ आफैँ विघटन भयो तर पूँजीवाद अझै पनि अस्तित्वमा रहेको छ र हरेक संकटका बावजूद आफूलाई बचाइरहन सफल भएको छ।
४) मार्क्सको अनुसार पूँजीवाद एउटा निश्चित तहमा पुगिसकेपछि आफैँ नै ओरालो झर्न थाल्छ, तर किनकी पूँजीवाद अझै अस्तित्वमा छ, त्यो समय अझै आइसकेको छैन र करिब २-४ पुस्ता वा १००-२०० वर्षसम्म आउनेछैन।
५) इतिहासलाई बदल्ने सामर्थ्य राख्ने वर्गको रूपमा मार्क्सले भन्ने गरेको सर्वहारावर्गमा अब त्यो गुण रहेन।
६) पूँजीवाद अझैसम्म पनि प्रगतिशील प्रणालीको रुपमा रहेको छ।
७) यसरी कम्युनिस्ट पार्टी र कम्युनिस्ट राजनीतिको औचित्य नै समाप्त भएको छ। धेरैमा कम्युनिस्टहरुले स्क्याण्डिनेभियाली मुलुकहरू जस्तै सामाजिक लोकतन्त्रमा आधारित कार्यक्रमहरू ल्याउनु उपयुक्त हुन्छ।
मार्क्सवादको सबैभन्दा महत्वपूर्ण पक्ष यसको दार्शनिक पक्ष हो। मार्क्सवादी दर्शन भौतिकवादमा आधारित छ। तर यो भौतिकवाद यान्त्रिक (mechanical) भौतिकवाद होइन। मार्क्सवादको महत्वपूर्ण पक्ष केवल भौतिकवादमात्र होइन, द्वन्द्ववाद (dialectics) पनि हो। द्वन्द्ववाद बिनाको मार्क्सवादको कल्पना गर्न सकिँदैन। मार्क्स हेगलका अनुयायी थिए तर हेगलको रहस्यमयी आदर्शवादबाट विमुख हुँदै उनी भौतिकवादलाई संसार बुझ्ने मुख्य आधार बनाए र यसक्रममा उनी फोयरबाखको भौतिकवादतर्फ आकर्षित भए, यद्यपी आदर्शवादबाट भौतिकवादतर्फको यात्रामा उनले हेगलको द्वन्द्ववादलाई छाडेनन्, बल्कि त्यसलाई आफ्नो अनुसन्धानको प्रमुख औजार बनाए। तर फोयरबाखको भौतिकवाद निकै नै जड र यान्त्रिक थियो, जसमा द्वन्द्ववादको लागि कुनै ठाउँ थिएन। मार्क्सले “जर्मन विचारधारा” मा फोयरबाखको आलोचना गरेका छन् र उनीबाट आफूलाई निर्णायक रूपमा अलग्याएका पनि छन्। फोयरबाखप्रति मार्क्सको प्रमुख गुनासो भनेकै फोयरबाखको भौतिकवादमा द्वन्द्ववाद नहुनु हो। मार्क्सले आफ्नो विधीमा रहस्यवाद र यान्त्रिकतालाई कुनै स्थान दिएका छैनन्। उनको भौतिकवादमा मानव सक्रिय प्राणी (active beings) हुन् जसले नै भौतिक संसारसँग अन्तरङ्ग गर्दै यसलाई चलायमान राख्छन् भने समयानुसार यसलाई बदल्छन् पनि। फोयरबाख लगायत पारम्परिक र जड भौतिकवादमा भने मानव केवल भौतिक आधारले एकोहोरो रूपमा डोर्याउने निष्क्रिय प्राणी (passive beings) को रुपमा रहेका छन् जसको आफू वरपरको भौतिक अवस्थालाई प्रभाव पार्ने कुनै भूमिका वा सामर्थ्य छैन।
प्रो. मिश्रले हालसालै आफूलाई लेनिन र माओबाट टाढा र मार्क्सको नजिक लगेको भन्ने गर्नुहुन्छ। लेनिन र माओबाट टाढा जानु कुनै टाउको दुखाइको कारण होइन, तर वहाँका उपर्युक्त दावीहरु हेर्ने हो भने यो देख्न पाइन्छ कि वहाँले लेनिन र माओमात्र होइन, मार्क्सलाई पनि निकै पर छोडिदिनुभएको छ र द्वन्द्ववाद बिनाको पारम्परिक भौतिकवादी पद्धतिलाई अपनाई त्यसैलाई मार्क्सको नाम दिनुभएको छ। प्रो. मिश्रसँग इतिहासलाई बुझ्ने ऐतिहासिक दृष्टिकोण त छ, जुन फोयरबाखसँग थिएन, तर उत्पादन पद्धतिको गतिशीलतालाई स्वीकार गरिरहँदा वहाँ वास्तविक जीवन्त मानिस, तिनको जीवन र तिनको आफ्नै गतिशीलतालाई उपेक्षा गर्न पुग्नुहुन्छ। यसैको परिणामस्वरूप वहाँका विश्लेषणहरुमा वहाँको ‘फोकस’ (focus) आर्थिक आधार र यसमा हुने परिवर्तनमा मात्र हुने गरेको छ।
समाज तथा इतिहास बुझ्ने काममा मार्क्सको लागि मानव र तिनको अस्तित्व सबैभन्दा प्रमुख कुरा हो। मानवले प्रकृति तथा आफ्नो आसपासको भौतिक संसारसँग संसर्ग गर्दै त्यसलाई निरन्तर परिवर्तन गरिरहन्छन्। यसअघि भनिएजस्तै मार्क्सको लागि मानव सक्रिय प्राणी हुन्। तर मानवको उत्पादन पद्धतिलाई मानवचेतनाको प्रभावभन्दा टाढा राखी एउटा स्वतन्त्र स्थान दिएर प्रो. मिश्र मानवलाई निष्क्रिय प्राणीको रूप दिनुहुन्छ, जो केवल आर्थिक आधार अर्थात् उत्पादन पद्धतिले जता धकेल्यो, त्यतैतिर मात्र धकेलिन्छ र जो आफ्नै श्रमसम्बन्धमा आधारित उत्पादन पद्धतिमाथि प्रभाव पार्न सक्दैन। यसो गरिरहँदा वहाँ यो कुरा भुल्नुहुन्छ कि पूँजीवाद वा अरु कुनै उत्पादन पद्धति आफ्नो अन्तर्निहित कारणले मात्र गतिशील हुँदैन, बरु सक्रिय ‘सब्जेक्ट’ हरु (subjects) जो आफैँ गतिशील (dynamic) छन्, सँगको संसर्ग र प्रभावमा परेर मात्र हुन्छ। मिश्र एकातर्फ पूँजीवाद एउटा निश्चित स्थानमा पुगेपश्चात आफैँ ओरालो लाग्न थाल्छ भन्ने निष्कर्षमा पुग्नुहुन्छ र यसको लागि मार्क्सको सहारा लिन खोज्नुहुन्छ, जबकि न त मार्क्सको अनुसन्धानात्मक पद्धतिले हामीलाई त्यो निष्कर्षमा पुर्याउँछ, न त मार्क्स स्वयंले त्यस्तो कुनै निष्कर्ष नै निकालेका छन्; अर्कोतर्फ वहाँ कामदार वर्ग समाज परिवर्तनको मुख्य स्रोत तथा चालक शक्ति अब नरहेको भन्ने नतिजामा पनि पुग्नुभएको छ। (१)
प्रो. मिश्रको एउटा प्रमुख दाबी के हो भने पूँजीवादको मृत्युको सम्बन्धमा लेनिनको विश्लेषण असामयिक (premature) थियो किनकी पूँजीवाद अझै पनि अस्तित्वमा छ र यो आफूमाथि आइपरेका सबै संकटहरुको निवारण गर्न सफल भएको छ। यही तर्कलाई पक्रेर वहाँ यो निष्कर्षमा पुग्नुभएको छ कि लेनिनदेखि लिएर माओसम्म पुँजीवादलाई विस्थापित गर्ने जति प्रयत्नहरू भए, ती सबै गलत थिए। तर आफ्ना ती दाबीहरू साबित गर्न मार्क्सले विभिन्न प्रसङ्ग (context) मा भनेका कुरा, जसमा पूँजीवादको विभिन्न पक्षको प्रशंसा पनि छ, लाई वहाँ निरपेक्ष (absolute) रुपमा प्रस्तुत गर्नुहुन्छ। मार्क्सको पूँजीवादबारेको आलोचनात्मक पक्ष, जुन प्रमुख पक्ष पनि हो, लाई पन्छाएर वहाँ केवल एउटा निश्चित प्रसङ्गमा भनिएका सकारात्मक पक्षलाई मात्र जोड दिनुहुन्छ। वहाँको प्रस्थानबिन्दु हेर्यो भने वहाँको यो बाध्यता पनि बुझ्न सकिन्छ, तर मार्क्सलाई वहाँको बाध्यताको बन्धनभित्र बाँधेर राख्न सकिन्न। वहाँको निष्कर्ष अनुसार वहाँ पूँजीवादलाई अझै पनि एक क्रान्तिकारी व्यवस्था देख्नुहुन्छ र वहाँ मार्क्सलाई पनि पूँजीवादका सबैभन्दा ठूला प्रशंसकका रूपमा प्रस्तुत गर्नुहुन्छ। निश्चय पनि मार्क्स पूँजीवादका प्रशंसक थिए। तर यसको आफ्नै प्रसङ्ग, समय र स्थान छ। बिना प्रसङ्ग यो तथ्यले भिन्न अर्थ दिन्छ, जसको प्रयोग मिश्र पनि गर्नुहुन्छ। मार्क्सको लागि पूँजीवाद सामन्तवादसँगको तुलनामा क्रान्तिकारी व्यवस्था हो। पूँजीवाद मानव समाजकै अहिलेसम्मको सबैभन्दा उच्चतम अवस्था हो र यसले उत्पादक शक्तिहरूको यति तीव्र विकास गरेको छ, जुन आफैँमा अद्भुत छ। तर मार्क्स पूँजीवादका प्रमुख आलोचक पनि हुन र उनको सारा जीवन पूँजीवादको अन्त्य गर्नका निम्ति समर्पित थियो, वास्तविक संघर्षहरुबाट टाढा रही पूँजीवादको अन्तिम संकटलाई पर्खेर बसिरहने थिएन। मिश्र भने मार्क्सलाई उनको क्रान्तिकारी मूल्यतत्वबाट च्युत गरी एउटा सम्मानजनक स्थानमा सीमित राख्नुहुन्छ, जो कुनै प्रकारको हानी गर्न असमर्थ छन्। यसैलाई इंगित गर्दै प्रदीप गिरीले लेख्नुभएको हो कि अरु कुरा बिर्सिए पनि मार्क्सको क्रान्तिकारीता बिर्सनु हुन्न। मिश्रले अरु सबै कुरा सम्झिए पनि मार्क्सको क्रान्तिकारिता भने बिर्सन पुग्नुभएको छ।
“राजनीतिक अर्थशास्त्रको आलोचनामा एक योगदान” मा मार्क्सद्वारा लिखित लाइनहरु निकै प्रख्यात छन् जसलाई प्रो. मिश्रले पनि आफ्ना दावीहरूलाई साबित गर्न प्रयोग गर्नुहुन्छ। उक्त कृतिमा मार्क्स लेख्छन्: “कुनै पनि सामाजिक व्यवस्थाको तबसम्म विनाश हुँदैन जबसम्म त्यसमा उत्पादक शक्तिहरूको पर्याप्त रूपमा विकास भइसकेको हुँदैन…..”। यस्ता वाक्यहरुलाई टपक्क टिपेर वहाँ यो दाबी गर्नुहुन्छ कि रुसमा बोल्शेभिकहरुको नेतृत्वमा भएको अक्टोबर क्रान्ति पनि लेनिनले हतारमा गरे किनकी पिछडिएको रुसमा उत्पादक शक्तिको पर्याप्त विकास भइसकेको थिएन।
यो कुरा सही हो कि उत्पादक शक्तिको पर्याप्त विकासबिना समाजवादी उत्पादन प्रणालीको स्थापना गर्न सकिँदैन। बोल्शेभिकहरूले सत्ता आफ्नो हातमा लिएको बेला रुसको त्यसबेलाको उत्पादक शक्तिको विकास ज्यादै न्यून रहेको थियो। तर यसको निष्कर्ष मिश्रले निकाल्नुभएको जस्तो हुन जाँदैन, जसअनुसार बोल्शेभिकहरूले सत्ता आफ्नो हातमा लिनुको साटो पुँजीपतिहरूको हातमा सुम्पनुपर्थ्यो। हामीले यो सजिलै देख्न सक्छौँ कि मिश्रको नजरमा उत्पादक शक्तिको विकास सधैँ एकैनासले एकोहोरो रूपमा न्यून अवस्थाबाट उच्च अवस्थामा भइरहन्छ। तर पुँजीवाद यस्तो सोझो रेखामा अघि बढ्दैन। कुनै पनि देशमा पुँजीवाद अन्तर्गत उत्पादक शक्तिको विकास कुन स्तर र गतिमा हुने भन्ने कुरा उक्त देशको पुँजीपति वर्गको भूमिकाले तय गर्छ। त्यसबाहेक, समग्र विश्व पुँजीवादी व्यवस्था आफ्नो चक्रको कुन अवस्थाबाट गुज्रिरहेको छ भन्ने कुरामा पनि यो निर्भर गहुन्छ। यी दुवै कुरा फेरी एक-अर्कासँग सम्बन्धित हुन्छन् र एकले अर्कोलाई प्रभावित गरिरहने हुन्छ।
१८ औं शताब्दीमा युरोपभरि बुर्जुवा क्रान्तिको लहर चलेको थियो, जसमा बुर्जुवा वर्गले क्रान्तिकारी भूमिका खेलेको थियो र सामन्तवादको अन्त्य गरि पुँजीवादी व्यवस्थाको जग हालेको थियो, जसको आधारमा पुँजीवादले तीव्र रूपमा उत्पादक शक्तिहरूको विकास गरि आफूलाई व्यापक रुप प्रादान गरेको थियो। यसको उत्कर्ष फ्रान्सेली क्रान्ति थियो। तर १९ औं शताब्दीको मध्यतिर आइपुग्दा बुर्जुवा वर्गले आफ्नो क्रान्तिकारी भूमिकालाई बिस्तारै त्याग्दै गयो र यसको भूमिका सत्ताधारी वर्गविरुद्ध संघर्ष गर्नेभन्दा पनि तीसँग केही सिमित विषयहरूमा सम्झौता गर्ने रहन पुग्यो। “क्रान्तिहरूको वर्ष” भनेर चिनिने सन् १८४८ को सालमा जर्मनी, हंगेरी, फ्रान्स, इटाली, पोल्याण्डलगायत अन्य युरोपेली देशहरूमा बुर्जुवा वर्गको भूमिका क्रान्तिकारी नभएर सम्झौतापरस्त भएकै कारण ती सबै देशहरूका क्रान्ति विफल भए।
रूसमा पनि बुर्जुवा वर्गको विकास एक क्रान्तिकारी वर्गको रूपमा नभएर सम्झौतापरस्त वर्गको रूपमा भएको थियो। यस वर्गको प्रतिक्रियावादी चरित्र सन् १९०५ को पहिलो रुसी क्रान्ति र त्यसपछि १९१७ को क्रान्तिमा पनि यसले खेलेको भूमिकाबाट प्रष्ट हुन्छ। यसका साथै, रुसमा पुँजीवाद अन्तर्गत उत्पादक शक्तिको विकासको स्तर र गति ज्यादै न्यून थियो र युरोपका विकसित पुँजीवादी राष्ट्रहरूको तुलनामा त यो सबैभन्दा कम्जोर राष्ट्र थियो। यस्तो अवस्थाको विश्लेषण गरेर मात्रै लेनिन र ट्रट्स्की यो निष्कर्षमा पुगेका थिए कि रुसमा बुर्जुवा क्रान्तिको नेतृत्वको जिम्मेवारी पनि सर्वहारावर्गकै हातमा छ। र सर्वहारा वर्गले आफ्नो हातमा सत्ता लिइसकेपछि उसले आफ्नो क्रान्तिलाई युरोपका विकसित पुँजीवादी देशहरू, र खासगरी जर्मनीसम्म फैल्याउनेछ र जर्मनीजस्तो विकसित पुँजीवादी देशमा सर्वहारा वर्ग सत्तामा आइपुगेपछि उसले रुसलाई आफ्ना उच्चतम उत्पादन प्रविधी र प्राविधिकहरू उपलब्ध गराई निकै द्रुत गतिमा उत्पादक शक्तिहरूको विकास गरि रुसलाई समाजवादको लागि तयार पार्नेछ। बोल्शेभिकहरूको यो नीति पुँजीवादको अन्तर्राष्ट्रिय स्वरूप र फलस्वरूप समाजवादको पनि अन्तर्राष्ट्रिय चरित्रलाई मध्यनजर गर्दै बनाइएको मार्क्सवादसम्मत नीति थियो।
तर मिश्रको लागि भने पुँजीवाद र पुँजीपति वर्ग सधैँ एकनासै विकास भइरहन्छन् र यिनको चरित्र कहिल्यै परिवर्तन हुँदैन। यही मान्यताको कारण नै वहाँ यो निष्कर्षमा पुग्नुभएको छ कि रुसमा बोल्शेभिकहरूले हतारमा समयपूर्व नै सत्ता हत्याए। तर हामीले तिनको विश्लेषण गर्दा थाहा पाउँछौँ कि पुँजीवादले सधैँ नै उत्पादक शक्तिको विकास गर्न सक्दैन र आफ्नो नियमित चक्रअनुसार यो कहिले सुस्त हुन पुग्छ त कहिले पतन भइरहेको हुन्छ। यस्तो अवस्थामा समाजमा रहेको एकमात्र क्रान्तिकारी तथा नेतृत्वकारी वर्गले मात्र प्रगतिको बाटोमा रहेका सबै अवरोधहरूलाई हटाउँदै उत्पादक शक्तिको विकास गर्न सक्षम हुन्छ। युरोपेली क्रान्तिको विफलता र स्टालिनपन्थका कैयौँ कमीकमजोरीका बावजूद पनि सोभियत संघले गरेको आर्थिक प्रगतिको नमूना हामीसबैको सामु नै छ।
तर एकैछिनलाई मानौँ कि मिश्रले भन्नुभए जस्तै पुँजीपति वर्गको नेतृत्वमा मात्रै समाजवादको लागि आवश्यक उत्पादक शक्तिको उच्चतम विकास हुन सक्छ। यदि त्यस्तो हो भने त नेपालजस्तो अल्पविकसित देशको विपरित अमेरिका तथा युरोपेली देशहरू समाजवादका लागि तयार भइसकेका हुनुपर्ने हो। तर मिश्रका लेखहरूमा हामीले यसप्रकारको विचार कतै पनि पाउँदैनौँ। किनकि वहाँले सामाजिक क्रान्तिमा आत्मगत आधारलाई पूर्णत नजरअन्दाज गर्नुहुन्छ र फलस्वरूप त्यसले हामीलाई समाजवाद पुँजीवादबाट स्वत: स्थापना हुने निष्कर्षमा पुर्याउँछ, जुन निष्कर्ष भनिरहनुपर्दैन कि गलत छ। सर्वहारा वर्गको सचेतन प्रयासबिना पुँजीवाद समाजवादमा आफैँ रूपान्तरण हुँदैन, बरु यसले बर्बरवादमा पुर्याउँछ। वर्तमान विश्व परिस्थिति हेर्दा यो कुरा सपष्ट हुन्छ कि हामी समाजवादतर्फ उन्मुख छौँ कि बर्बरतातर्फ।
एक सामाजिक क्रान्तिको लागि आवश्यक आधारहरू भनेको वस्तुगत (आर्थिक/उत्पादक शक्तिको विकास) को साथै वस्तुगत (सर्वहारा वर्गको चेतनाको विकास, उक्त वर्गलाई संगठित गर्नसक्ने पार्टी र पार्टीले प्रतिपादन गर्ने विचार, आदि) हुन्। तर यी दुवै आधारहरूमध्ये परिस्थितिअनुसार कुनै ले पनि निर्णायक भूमिका खेल्न सक्छन्। यसैलाई थप स्पष्ट पार्नको लागि हामीले एंगेल्सको यी हरफहरूलाई हेर्न जरूरी छ:
“इतिहासको भौतिकवादी व्याख्याअनुसार इतिहासको अन्तिम र निर्णायक तत्व भनेको वास्तविक जीवनको उत्पादन र पुनरुत्पादन हो । योभन्दा बाहेक न त मार्क्स न त म स्वयंले अरु केही भनेका छौं । त्यसकारण कसैले यसलाई बंग्याएर आर्थिक तत्व एकमात्र निर्णायक कारक हो भन्छ भने, उसले यो विषयवस्तुलाई नै अर्थहीन, अमूर्त र महत्वहीन वाक्यांश बनाइदिन्छ। आर्थिक अवस्था अधार हो, तर उपरिसंरचनाका विभिन्न तत्वहरु – वर्गसंघर्षको राजनीतिक रुप र त्यसका नतिजा, एउटा सफल संघर्षपश्चात विजयी वर्गले निर्माण गरेको विधान, न्यायिक विधी र यी सबै वास्तविक संघर्षहरुको सहभागीहरुको दिमागमा परेको प्रतिबिम्ब, राजनीतिक, न्यायिक, दार्शनिक सिद्धान्तहरु, धार्मिक विचारहरु र ती सबैको विचारधाराको रूपमा विकास – यी सबैले ऐतिहासिक संघर्षहरुको पथ निर्माण गर्ने क्रममा प्रभाव पार्छन् र धेरै अवस्थमा तिनको रूप निर्धारण गर्ने निर्णायक तत्वको रूपमा काम गर्दछन्।” (२)
पूँजीवादका अन्तरविरोधको केवल आर्थिक रूपमा मात्र देखा पर्दैनन्। यद्यपी पूँजीवादको विकाससँगै मजदुर वर्गका हड्ताल र अन्य संघर्षहरु झनझनै बढ्दो अवस्थामा छ। जस्तो कि एंगेल्सले माथि भनेका छन्, समाजको आर्थिक आधार प्रमुख तत्व हुँदाहुँदै पनि विभिन्न परिस्थिति र समयमा उपरिसंरचानाका विभिन्न तत्वहरुले पनि निर्णायक भूमिका खेल्न सक्छन्। पूँजीवादका अन्तरविरोधहरु आर्थिकसँगै राजनीतिक, सामाजिक, धार्मिक, वातावरणीय वा अरु कुनै रूपमा पनि प्रकट हुन्छन् र आधुनिक समाजसँग आफ्नो असामन्जस्यता (incompatibility) लाई निर्लज्ज रूपमा प्रदर्शन गरिरहेका हुन्छन्।
एंगेल्स अझै थप्छन्: “युवाहरुले कहिलेकाँही आर्थिक पाटोलाई चाहिएभन्दा बढी जोड दिनुमा मार्क्स र म दुवै आंशिक रूपमा दोषी छौँ। त्यसलाई नकार्ने हाम्रा प्रतिद्वन्दीहरुको कारण हामीले त्यस पाटोलाई बढी महत्व दिनु परेको हो…..”
शायद प्रो. मिश्रतिर नजर लगाउँदै भूतकालबाट उनी भन्छन्: “तर दुर्भाग्यवश, जस्तो कि प्राय हुने गर्छ, मानिस सोच्ने गर्छन कि उनीहरूले एउटा नयाँ सिद्धान्त पूर्ण रूपमा बुझिसकेका छन् र अरू केही नगरी त्यसका प्रमुख सिद्धान्तलाई आत्मसात गरेको क्षणदेखि नै व्यवहारमा लागु गर्न सक्छन् र त्यो पनि सधैं सही रूपमा होइन। र म यो निन्दाबाट हालसालैका धेरै ‘मार्क्सवादी’ लाई टाढा राख्न सक्दिन किनकि यो तप्काबाट पनि सबैभन्दा अद्भुत बकवासहरुको सिर्जना भएका छन्।”
कुनै समाजव्यवस्थालाई अस्थायी मान्ने हो भने एउटा निश्चित बिन्दुमा पुगेपछि पूँजीवादको अन्त्य हुन्छ भन्न तर्कसँग हामी असहमत हुन सकिन्न। तर प्रो. मिश्रसँग असहमत कहाँ गएर भइन्छ भने मार्क्सले पूँजीवादको अन्त्यको निम्ति कुनै समयसीमा तोकेका थिएनन्, जस्तो कि हामीले पहिले चर्चा गर्यौँ। निश्चित परिस्थितिमा पुँजीवादी स्वामित्व सम्बन्धको आधारमा उत्पादक शक्तिको विकास ठप्प हुन् जान्छ र यो अवस्थाबाट समाजलाई निकास दिन पुँजीवादी स्वामित्व सम्बन्धलाई नष्ट गर्नुको अन्य कुनै विकल्प हुँदैन र यो कार्य केवल सर्वहारा वर्गले मात्र गर्न सक्छ। पूँजीवादी लोकतन्त्रको सीमाभित्र जति सकिन्छ त्यति वैधानिक संघर्ष गर्नु बेग्लै कुरा हो तर मार्क्सको लागि त्यस्तो संघर्ष सामाजिक क्रान्तिभन्दा अलग कुरा होइन, त्यसैको एक भाग हो। त्यस्तो संघर्षलाई हामीले सामाजिक क्रान्तिभन्दा अलग गर्दा हामी त्यहीँ पुग्छौँ जहाँ एडवर्ड बर्नस्टिन पुगेका थिए र जहाँ रोजा लक्जेम्बर्गले उनको खण्डन गर्नुपरेको थियो।
आर्थिक संकटहरु पूँजीवादी व्यापारिक चक्रको एक भाग हो जो नियमित रूपमा देखा पर्ने गर्छ। यस्ता संकट कामदार वर्गका निम्ति त अभिशाप नै हो, जसले दरिद्रता बाहेक अरु केही ल्याउँदैन तर पूँजीपति वर्गको निम्ति दीर्घकालीन रूपमा यो वरदान हो जसले पूँजी संचयमा आवधिक रूपमा देखिने गतिरोधलाई हटाउँछ। हामीले इतिहास खोतल्यौँ भने पूँजीवादको अवसानबारे मार्क्स र एंगेल्सका धारणा समयक्रम र परिस्थितिअनुसार कहिले उत्साह त कहिले निराशाको रूपमा बदलिएको पाउँछौँ। मार्क्स र एंगेल्सको पालामा पुँजीवादी आर्थिक संकट(economic crises)हरु बारम्बार हुने गर्दथ्यो। १८४० को दशकतिर प्रत्येक ४-५ वर्षहरुमा समृद्धि(prosperity), अत्युत्पादन(over-production), स्थिरता (stagnation) र अन्त्यमा संकट(crisis) को व्यापारिक चक्रले एक फन्को मार्थ्यो भने बिस्तारै त्यो ६-७ को अन्तरालमा हुन थाल्यो। मार्क्सले “पूँजी” लेख्ने बेलासम्म उनी १० वर्षीय चक्रको कुरा गर्छन्। तर देखापर्ने अन्तरालमा परिवर्तन भएपनि मार्क्स र एंगेल्स भने आर्थिक संकटहरुलाई उत्पादक शक्तिहरूको विकासमा तगारोको रूपमा रहने पूँजीवादी उत्पादन सम्बन्ध, जुन पूँजीवादको एक प्रमुख अन्तरविरोध हो – को अभिव्यक्तिको रुपमा लिन्छन् र यस्ता संकटलाई पूँजीवादलाई अन्त्य गर्ने अवसरको रुपमा लिन्छन्। उनीहरू समृद्धिको कालमा क्रान्तिको कुनै सम्भावना देख्दैनन्।
“यो आम समृद्धि, जतिबेला बुर्जुवा समाजका उत्पादक शक्तिहरू त्यतिकै भव्य रूपमा विकास हुन्छन् जति बुर्जुवा सम्बन्धहरुमा यसको सम्भावना छ, यस्तो बेला वास्तविक क्रान्तिको कुरै हुन सक्दैन। यस्तो क्रान्ति त्यस्तो कालमा मात्र सम्भव छ जब यी दुवै आधारहरु, आधुनिक उत्पादक शक्ति र बुर्जुवा उत्पादन सम्बन्ध एकअर्कासँग ठोक्किन पुग्छन्।” (३)
तर यसको मतलब यो होइन कि मार्क्स अन्य आवधिक संकटहरुलाई सामान्य रूपमा लिन्थे र केवल पूँजीवादको अन्तिम तथा विकराल संकटलाई मात्र समाजवादको पहिलो ढोकाको रूपमा लिन्थे, यद्यपी उनी त्यो विकराल संकट आउने सम्भावनाप्रति उदासीन भने थिएनन्। मार्क्सको लागि पूँजीवादको हरेक आर्थिक संकट, त्यसले कामदार वर्गमाथि पार्ने आर्थिक असरका साथै वातावरणीय तथा अन्य मानवीय असरहरु नै यसलाई प्रतिस्थापन गर्न पर्याप्त आधार हुन्। समाजवादी चेतनाको निर्माण गर्न प्रमुख भूमिका निर्वाह गर्ने यस्ता संकटका साथै समाजवादी विचारको प्रवर्धनले सामाजिक क्रान्तिको सम्भावनातर्फ उनी ठूलो आशाको नजरले हेर्छन् भने त्यस्तो सामाजिक क्रान्ति नभएको अवस्थामा स्वभाविक रूपमा निराश पनि देखिन्छन्। १८५२ को सेप्टेम्बरमा यस्तै निराशाका साथ एंगेल्स मार्क्सलाई लेख्छन्:
“अहिलेको अस्थायी समृद्धिले गर्दा फ्रान्सका मजदुरहरु निदाएका छन्। एउटा संकटरूपी गम्भीर दण्डले मात्र उनीहरुलाई जगाउन सक्छ।” (४) अप्रिल १८५३ मा आइपुग्दा भने एंगेल्स उत्साहित देखिन्छन् र वेडेमेयरलाई लेख्छन्: “यूरोप प्रशंसनीय रूपमा तयार छ; यसलाई संकटको एउटा झिल्कोको मात्र आवश्यकता छ।” (५)
त्यस्तै, सन् १८५६ को सेप्टेम्बरमा आउँदो संकटको भेउ पाउँदै मार्क्स एंगेल्सलाई लेख्छन्: “यसपाली त झन् यो कुरा युरोपेली स्तरको यस्तो अवस्थामा छ जो यसभन्दा अघि कहिल्यै पुगेको थिएन र मलाई लाग्दैन कि हामी धेरैबेरसम्म हामी दर्शकको रुपमा मात्र बसिरहनेछौं।” (६)
अर्कोवर्ष १८५७ को डिसेम्बर ८ मा उनी फेरि एंगेल्सलाई लेख्छन्: “म पागलजस्तै रातभर मेरो आर्थिक विषयका अध्ययनलाई एकत्रित गर्दैछु ताकि त्यो ठूलो प्रलय आउन्जेलसम्म कमसेकम रूपरेखा स्पष्ट पार्न सकुँ।” (७)
मार्क्सको समयदेखि अहिलेसम्म आउँदा पूँजीवादमा निश्चय नै धेरै बदलावहरु आएका छन्। यसको आवधिक आर्थिक संकटहरु धेरै समयको अन्तरालमा आउने गरेका छन्। तर संकटहरु काम हुँदै जाने यो प्रवृत्ति नयाँ भने होइन। मार्क्सकै समयदेखि नै यो प्रवृत्ति अस्तित्वमा रहिआएको छ। तर त्यसो हुँदाहुँदै समाजवाद स्थापनाको कामलाई मार्क्सले अनिश्चित भविष्यमा धकेलिदिएको हामी पाउँदैनौं। यसको मतलब यतिमात्र हो कि पूँजीवादले आफ्नो सुरक्षा कवच बलियो बनाउँदै लगेको छ। यसो हुँदैमा पूँजीवादको निरन्तरताको औचित्य पुष्टि हुँदैन। अहिले एन्टी-बायोटिकहरुको अत्याधिक प्रयोगले कतिपय हानीकारक ब्याक्टेरियाले एन्टी-बायोटिक प्रतिरोधी क्षमता विकास गरेका छन् भन्ने सुन्नमा पाइन्छ। तर यसले ती हानीकारक ब्याक्टेरियाको उपयोगिता सिद्ध गर्दैन, ती जीवाणु कति खतरनाक भइसकेका छन् भन्ने कुराको मात्र पुष्टि गर्छ। विश्व पूँजीवादको अहिलेको अवस्था पनि ती ब्याक्टेरियाको जस्तै रहेको छ।
बेलाबेलामा पूँजीवादमा देखा परिरहने आर्थिक संकटको एकप्रमुख कारक पूँजीवादमा नाफाको दर घट्ने प्रवृत्ति रहेको छ। मिश्रले उक्त प्रवृत्ति दूरगामी प्रवृत्ति नभएर केवल आवधिक पो हो कि भन्ने प्रश्न पनि गर्नुभएको छ। तर बेलायती मार्क्सवादी अर्थशास्त्री माइकल रबर्ट्सले मुख्यतः अमेरिकी अर्थतन्त्रमा आधारित भएर देखाएका छन् कि अमेरिकी पूँजीवादमा नाफाको दर निरन्तर रूपमा ओरालो लाग्ने क्रममा छ, यद्यपी यो एउटा सीधा रेखामा भने तल झरेको छैन। (८) यही विषयलाई लिएर “न्यू लेफ्ट प्रोजेक्ट” मा डेभिड हार्भी र एन्ड्रयू क्लिमनबीचको बहस पनि सम्झनलायक छ, जहाँ हार्भीले उक्त प्रवृत्ति कमजोर हुँदै गएको दाबी गरेका छन् भने एन्ड्रयू क्लिमनले उक्त दाबीको राम्रोसँग खण्डन गरेका छन्। (९)
मार्क्स र एंगेल्सको मृत्युपश्चात पूँजीवादी संकटले अन्य आवधिक संकटबाहेक पहिलो र दोश्रो विश्वुद्धका रूपमा दुईवटा चरम स्थितिको रूपमा देखापर्यो। दुवै युद्धहरुमा विश्वका पूँजीपति वर्ग आफ्ना स्वार्थका निम्ति लाखौँ मानिसहरूको बलि चढाउन पछि परेनन्। दोश्रो विश्वयुद्दपछि पनि अहिलेसम्म पूँजीवादी संसार अनेकौँ युद्धमा निरन्तर लागिपरेको छ। अनेकौँ संकटका बावजूद पनि पूँजीवाद अझै अस्तित्वमा छ र तमाम संकटलाई पार गर्न सक्ने यही खूबीसँग मन्त्रमुग्ध भएर प्रो. मिश्र पूँजीवाद अझै धेरै समय रहिरहने र त्यसपछि आफैँ ओरालो लाग्ने भविष्यवाणी गर्नुहुन्छ। समाजवादी रूपान्तरणका निम्ति वहाँ मानवको सचेतन प्रयासलाई कम महत्व दिनुहुन्छ। तर मार्क्स भने पूँजीवादको अन्त्यको निम्ति मजदुर वर्गको चेतनशील संघर्षलाई नै प्रमुख मान्छन्। तर हरेक आर्थिक संकटले मजदुर वर्गमा स्वतः समाजवादी चेतनाको विकास गर्छ भन्ने छैन। समाजवादकै लागि भनेर बनाइएका पार्टीहरु आफू वरपरको विभिन्न परिस्थितिसँग प्रभावित नभइकन बस्नेछन् भन्ने पनि ग्यारेन्टी छैन, जुन हामीले पहिलो विश्वयुद्धपश्चातको जर्मन समाजवादको तीतो अनुभवबाट थाहा पायौँ। यहीँ नै कम्युनिस्ट पार्टी, कार्यक्रम, सिद्धान्त, रणनीति, कार्यनीति आदिको आवश्यकता आइपर्छ। मार्क्सको लागि वस्तुगतका साथै आत्मगत आधार र अन्य विभिन्न तत्वहरु पनि उत्तिकै महत्वपूर्ण छन्। तर मिश्रको लागि आत्मगत आधारहरू गौण हुन जान्छन् भने वस्तुगत आधारले एकखाले स्वतन्त्र अस्तित्व ग्रहण गर्छ र एउटा यस्तो भीमकाय दानवको रूपमा देखापर्छ जसको अघि हामी सबै लाचार भएर बस्न मात्र सक्छौँ, धेरै केही गर्न सक्दैनौँ।
पुँजीपति वर्गको नेतृत्वमा पुँजीवादको निश्चित चरणसम्मक विकासलाई मात्रै सामाजिक रूपान्तरणको एकमात्र शर्त मान्ने कुरालाई मार्क्सले नकारेको कुरा उनले रूसी मार्क्सवादी भेरा ज्यासुलिचसँग आदानप्रदान गरेका पत्रहरुबाट पनि स्पष्ट हुन्छन् जहाँ उनी रूस आफ्नो त्यसबखतको ग्रामीण कृषि कम्युनमा आधारित भएर पूँजीवादी चरणबाट गुज्रिनुअघि नै समाजवादमा संक्रमण गर्नसक्ने सम्भावनामा जोड दिन्छन्। एंगेल्ससँगै कम्युनिस्ट घोषणापत्रको १८८२ को रूसी संस्करणको भूमिका, जुन उनको र एंगेल्सको सहकार्यमा आधारित अन्तिम रचना बन्न पुग्यो, मा दुवै लेख्छन्: “अब प्रश्न हो – के रूसी ग्रामीण कम्युन, जसलाई धेरै महत्व नदिइएपनि जुन सामूहिक भूमी स्वामित्वको एउटा रूप हो, एकैपटक अझ उपल्लो स्वरूपको कम्युनिस्ट सामूहिक स्वामित्वमा जान सक्छ? वा त्यसको विपरीत यो पनि विघटनको त्यही प्रक्रियाबाट गुज्रिनुपर्छ जसरी पश्चिमा जगतमा भएको थियो? आज यसको एकमात्र उत्तर छ: “यदि रूसी क्रान्ति पश्चिमा जगतमा सर्वहारा क्रान्तिको संकेत बन्छ, ताकि तिनले एकअर्काको पूरकको काम गरून्, अहिलेको रूसी सामूहिक भूमि-स्वामित्व साम्यवादी विकासको प्रस्थानबिन्दु बन्न सक्छ।” (१०)
यसबाट स्पष्ट हुन्छ कि उत्पादक शक्तिको विकास र समाजवादको स्थापना मार्क्स र एंगेल्सकै लागि पनि राष्ट्रिय नभएर अन्तर्राष्ट्रिय प्रश्न हो, जसको स्वरूपलाई पुँजीवाद आफ्नै अन्तर्राष्ट्रिय स्वरूपले निर्धारण गर्छ। तर मिश्रको विश्लेषणले वहाँलाई स्टालिनपन्थीहरू जस्तै मार्क्सभन्दा धेरै पर पुर्याउँछ, जहाँ पुँजीवाद र समाजवादको प्रश्न केवल राष्ट्रिय रूपमा मात्रै उठाइन्छ र हल गर्ने प्रयत्न गरिन्छ। मार्क्सको लागि समाजवादी क्रान्ति भनेको केवल एउटा राष्ट्रिय प्रश्न थिएन, बल्कि एउटा अन्तरराष्ट्रिय प्रश्न थियो। रूसी क्रान्तिको सम्बन्धमा लेनिन र ट्रट्स्कीको विचार पनि मार्क्सकै जस्तै थियो। सामन्ती रुसमा हुने क्रान्तिको सफलतालाई मार्क्सले उक्त क्रान्तिले यूरोपका मजदुर वर्गलाई प्रेरित गर्न सक्छ वा सक्दैन भन्ने प्रश्नसँग जोडेका थिए। लेनिन र ट्रट्स्कीले पनि मार्क्सलाई पछ्याउँदै पिछडिएको पूँजीवादी रुसमा सर्वहारा क्रान्तिको सफलतालाई युरोपमा र खासगरी जर्मनीको क्रान्तिको सफलतासँग लगेर जोडेका थिए। तर जर्मन क्रान्तिको विफलता र रुसको अलगावसँगै दुनियाँभर एउटा नयाँ आशाको किरणको रूपमा उदाएको सोभियत संघमा स्टालिनपन्थी नोकरशाहीतन्त्र हावी भयो र क्रान्तिको निकै दुःखद अन्त्य भयो। रुसको बुर्जुवा वर्गले आफ्नै क्रान्तिको नेतृत्व नलिनु लेनिनको कारणले गर्दा होइन। १९०५ र १९१७ मा क्रान्तिको नेतृत्व गर्न मजदुर वर्गलाई लेनिनले जबर्जस्ती घचेटेका होइनन्। यी कुरा रुसको सामाजिक विकासको विशिष्ट अवस्थाले गर्दा भएका हुन्। तर लेनिनबारे पहिल्यै आफ्नो धारणा बनाइसक्नुभएको मिश्रलाई वास्तविक अवस्था र अनुभवले त्यति महत्व राख्दैनन्, चाहे ती जतिसुकै तथ्यसंगत किन नहोउन्।
प्रो. मिश्र विश्वमा पूँजीवादलाई अन्त्य गर्नको निम्ति भएका क्रान्तिकारी कदमहरुलाई लेनिनको देन ठान्नुहुन्छ र त्यसलाई मार्क्सवादबाट विचलनको रूपमा व्याख्या गर्दै मार्क्सलाई एउटा सर्कसको बाघको रूपमा प्रस्तुत गर्नुहुन्छ जो देख्नमा निकै भयानक त छ तर जसले कुनै पनि हानी-नोक्सानी गर्न सक्दैन। यसैक्रममा वहाँ मार्क्सलाई बजारका सबैभन्दा ठूला प्रशंसक मान्नुहुन्छ भने निजी सम्पत्तिलाई पनि मार्क्सको प्रिय वस्तु देख्नुहुन्छ, जसलाई ती भयानक जन्तु लेनिनले जबर्जस्ती उन्मूलन गर्ने चेष्टा गरेका थिए र आफूलाई मार्क्सभन्दा टाढा लगेका थिए। एउटा अन्तर्वार्तामा वहाँले भन्नुभएको थियो कि “लुई बोनापार्टको अठारौँ ब्रुमेर” बाट मार्क्सको एउटा उद्धरण वहाँको मन पर्ने उद्धरण हो – “मानवले आफ्नो इतिहास आफैँ बनाउँछ तर यो उसले आफूले चाहेजस्तो परिस्थितिमा बनाउँदैन, बल्कि विगतबाट हस्तान्तरित भई आएर अस्तित्वमै रहिरहेका परिस्थितिहरूमा आधारित भएर बनाउँछ।” तर लेनिनलाई हेर्ने क्रममा वहाँ यो ऐतिहासिक भौतिकवादी दृष्टिकोणलाई बिर्सनुहुन्छ र “ग्रेट-म्यान थियोरि” को शरणमा पुग्नुहुन्छ जसअनुसार मार्क्सवादमा वहाँले मान्नुभएको भ्रष्टीकरण, जुन तथ्यसंगत पनि छैन, को लागि एकजना व्यक्तिको काँधमा थुपार्नुहुन्छ – “मानिसले आफ्नो इतिहास आफूले चाहेअनुसारको परिस्थितिमै बनाउँछ र विगतबाट विरासतको रूपमा पाइएको र अस्तित्वमा रहेको वास्तविक परिस्थितिहरुको कुनै औचित्य वा महत्व छैन।” यसरी प्रो. मिश्र एकातर्फ सामाजिक परिवर्तनको सवालमा भौतिक परिस्थितिलाई सबैथोक मान्दै मानव र उसको जीवनलाई गौण बनाउनुहुन्छ भने अर्कोतर्फ रूसी क्रान्ति र लेनिनलाई बुझ्ने क्रममा भने वहाँ भौतिक परिस्थितिलाई गौण बनाई एउटा व्यक्तिलाई नै इतिहासको स्वतन्त्र निर्माणकर्ताको रूपमा देखाएर एउटा विरोधाभासपूर्ण अवस्थामा पुगेर फस्नुहुन्छ।
१९१७ मा रुसमा भएको अक्टोबर क्रान्तिभन्दा अघि पनि मजदुर वर्गले आफ्नो भविष्यलाई आफ्नै हातमा लिई पूँजीवादको अन्त्य गर्ने जमर्को गरेका थिए। पेरिस कम्युनका रुपमा चिनिने उक्त प्रयास केही महिनामात्र अस्तित्वमा रह्यो। त्यसबेलाको वस्तुस्थिति र आफ्नै कमीकमजोरीका कारण यो प्रयास असफल भयो र त्यसको निर्मम दमन भयो। मिश्रका व्याख्याहरुमा पेरिस कम्युनका लागि कुनै ठाउँ छैन, जुन स्वभाविक पनि हो किनभने त्यसले स्थान पाउने हो भने “मार्क्सको शिक्षाको विपरीत लेनिनले हतारमा क्रान्ति गरे, मार्क्सलाई बुझेनन्” भन्ने वहाँको दाबी गलत साबित हुन्छ। १८७१ को फ्रान्स तुलनात्मक रुपमा ब्रिटेनभन्दा पछि थियो, पेरिसमा निम्न-पूँजीपतिहरुको बाहुल्यता थियो भने मजदुरहरु पनि बहुमतको संख्यामा थिएनन्। प्रश्यन साम्राज्यसँग युद्धको रुपमा देखापरेको संकटलाई हल गर्न जब मजदुरहरुले सबैकुरा आफ्नो हातमा लिए, मार्क्सले तिनलाई “पूँजीवाद ढाल्ने समय आएको छैन, तिमीहरूले हतार गर्यौ” भनेर प्रवचन दिएनन्, बरु उनीहरूको सक्दो बचाउ गरे। पेरिस कम्युनपछि मार्क्स अझै १२ वर्ष बाँचे भने एंगेल्स अझै २४ वर्ष। तर दुवैले पेरिस कम्युनको असफलताको लागि “उत्पादक शक्तिको पर्याप्त विकास नभइसकेको अवस्था” वा “मजदुरहरुको हतारो” लाई होइन, कम्युनका केही नेताहरुका नीतिगत कमजोरीलाई प्रमुख कारणको रूपमा हेरे। “फ्रान्समा गृहयुद्ध” मा हामी यसै अनुरूपको भाव पाउँछौँ, जसलाई एउटा हरफमा संश्लेषण गर्न सकिन्छ: “मजदुर वर्गले बुर्जुवा सत्ताका औजारहरुलाई आफ्नो हातमा लिएर त्यसैलाई आफ्नो स्वार्थको लागि प्रयोग गर्न सक्दैन” (९) (त्यो सत्ताको ठाउँमा नयाँ सत्ताको स्थापना गर्नुपर्छ)। यस्तो निष्कर्ष चैतन्य मिश्रले भन्नुभएजस्तो पूँजीवादलाई चुनौती नदिई केवल बुर्जुवा सत्तालाई अधिकाधिक रुपमा प्रयोग गर्नुपर्छ भन्ने मान्यताको ठीक विपरीत छ। मार्क्स र मिश्रबीच यो फरक किन छ भने मार्क्स मानवको वास्तविक जीवन र संघर्षमा आधारित भएर विचार, सिद्धान्त र कार्यक्रमको विकास गर्थे। टाउकोमा टेकेको हेगललाई मार्क्सले भौतिकवादको सहारा दिई खुट्टामा टेकाएका थिए। चैतन्य मिश्र भने खुट्टामै टेकिरहेका मार्क्सलाई लेनिनबाट बचाउने निहुँमा टाउकोमा टेकाउन पुग्नुहुन्छ।
मिश्र नेपालको सन्दर्भमा पूँजीवादलाई क्रान्तिकारी ठान्नुहुन्छ। यो कुरा सही पनि हुनसक्छ। तर अरु कुरा जस्तै पूँजीवाद पनि एक तरल र गतिशील व्यवस्था हो जुन एउटा सीधा रेखामा अघि बढ्दैन र आफ्नो तमाम आश्चर्यजनक उपलब्धीका बावजूद विभिन्न समयमा यसले आफ्नो सीमा पनि प्रस्तुत गर्ने गर्छ। मिश्रको लागि भने पूँजीवादका ती सीमाले खासै महत्व राख्दैनन्। वहाँ आजै पूँजीवाद अझ २-४ पुस्तासम्म रहिरहने भविष्यवाणी गर्नुहुन्छ र त्यही भविष्यवाणीमा आधारित भएर सामाजिक लोकतन्त्रको दीर्घकालीन कार्यक्रम ल्याउनुहुन्छ, मानौँ त्यो २-३ पुस्ताको समयसम्म पूँजीवाद बिना कुनै उतारचढाव र परिवर्तन एउटै दिशामा अघि बढिरहने छ। तर यदी इतिहास भाग्यवादी तरिकाले यति सहज रूपमा चल्थ्यो त हामीलाई मार्क्स, मार्क्सवाद वा अन्य कुनै दर्शन वा सिद्धान्तको नाउँमा आफ्नो टाउको दुखाइरहनुपर्ने कुनै आवश्यकता हुने थिएन।
यसअघि उल्लेख गरिएजस्तै, मिश्रको तर्कले नेपालजस्तो पछौटे पूँजीवादी देश मात्र होइन, अमेरिका वा युरोपेली देशहरूमा पनि समाजवादको लागि वस्तुगत आधार पर्याप्त नभएकै निष्कर्षमा पुर्याउँछ र यसले फेरि समाजवादको विषयलाई अनिश्चित भविष्यमा धकेलिदिन्छ। एकैछिनलाई मानौँ कि मिश्रले भनेजस्तै पूँजीवाद एउटा निश्चित अवस्थामा पुगेपछि आफैँ गतिहीन बन्छ। विश्वमा पूँजीवादी विकास असमान हुन्छ भन्ने कुरा त वहाँलाई पनि थाहा छ। नेपालको सुरुवाती अवस्था एउटा पछौटे पूँजीवादको रुपमा छ। यदि अबको ५०-६० वर्षसम्म नेपालले निरन्तर द्रुत आर्थिक विकास गर्छ भन्ने कुरा मान्ने हो भने प्रश्न उठ्छ: यो ५०-६० वर्षसम्म अहिले नै उन्नत रहेका यूरोप वा अमेरिकी देशहरु जहाँको त्यहीँ रहन्छन्? के उनीहरूको आफ्नो उत्पादक शक्तिहरूको विकास हुँदैन? के पूँजीवादी राष्ट्रबीच नै संघर्षको स्थिति आउँदैन? उन्नत पूँजीवादी मुलुक नै रहेको ग्रीस अहिले कुन हालतमा छ? अनि के त्यसबेला चाहिँ नेपाल समाजवादको लागि तयार हुन्छ? मिश्रको दाबी छ कि अझै २-३ पुस्तापछि सम्भवतः हामी समाजवादको लागि तयार हुनेछौँ। तर वहाँको पद्धतिलाई पक्रने हो भने हामी त्यसबेला पनि तयार हुनेछैनौँ किनकि हाम्रो तुलनामा कुनै अर्को राष्ट्रको उत्पादक शक्तिको विकासको अवस्था अझै उन्नत हुनेछ र त्यो उन्नत राष्ट्र पनि समाजवादको लागि तयार भइसकेको हुनेछैन किनभने पूँजीवाद अझै अस्तित्वमै रहेको हुनेछ र वहाँले भनेजस्तो गरी आफैँ ओरालो लागेको हुने छैन वा पूँजीवादले अर्को कुनै आर्थिक संकटलाई सफलतापूर्वक पार गरेको हुनेछ।
यसैको विस्तारस्वरूप वहाँ पूँजीवादलाई नेपालको सन्दर्भमा मात्र होइन विश्वकै सन्दर्भमा अझै पनि क्रान्तिकारी देख्न बाध्य हुनुहुन्छ। उपर्युक्त दुई आधार त्यही आधार हुन् जसको सहायता लिएर वहाँ यो निष्कर्षमा पुग्नुहुन्छ कि पूँजीवाद यस धर्तीबाट बिदा लिने समय आइसकेको छैन। वहाँको तर्कलाई पछ्याउने हो भने त पूँजीवादले बिदा लिने समय कहिल्यै पनि आउनेछैन।
मिश्रले कम्युनिस्टहरुको अबको कार्यभार सामाजिक-लोकतन्त्र हो भन्ने विचार व्यक्त गर्नुभएको छ। तर हामीले अहिले हेर्यौं भने वहाँले भनेजस्तो सामाजिक-लोकतन्त्र विश्वमा अपवादका रूपमा औँलामा गन्न सकिने देशहरूमा मात्र अस्तित्वमा छ। ती अपवादबाहेक सारा विश्वमा हामी पूँजीवादको निर्मम र निकृष्ट रूप मात्र देख्न सक्छौँ। वहाँले सुझाउनुभएको यस्तो विकल्प मार्क्सवादी विश्वमा पहिले पनि नआएको होइन। विश्वमा वहाँजस्तै पूँजीवादलाई डोरीमा बाँधेर संसारको भलो चिताउने मान्छे नभएका पनि होइनन्। विश्व पूँजीवादलाई त्यसरी नै डोरीमा बाँधेर किन्सियन(Keynesian) सामाजिक-लोकतन्त्रमै आधारित रामराज्यको स्थापना गर्ने प्रयत्न दोस्रो विश्वयुद्धपछि नभएको पनि होइन। तर आफूलाई बाँधेको साङलोलाई पूँजीवादले भाँचेर नवउदारवादको जुन भयानक तर आफ्नो नियमअनुसार स्वभाविक पथतिर लम्कियो, हामी त्यही युगमै बाँचिरहेका छौं। आफ्नो मुख्य ध्येय र आफूलाई चलायमान राख्ने चीज नै नाफाको अभिवृद्धि (profit maximization) हुने र नाफा केवल कामदारवर्गलाई जतिसक्दो थिच्यो त्यति नै बेसी पाइने हुनाले पूँजीवादमाथि जति बन्धन बाँधे पनि पूँजीपतिहरुसँग ती बन्धन तोड्ने बाहेक अरु कुनै उपाय हुँदैन। यसकारण पूँजीवादको कारण आइपर्ने कष्टलाई दूर गर्न पूँजीवादकै उन्मूलनको अलावा अन्य कुनै विकल्प छैन।
प्रो. मिश्रका मार्क्सको बारे अन्य केही दाबीहरु आश्चर्यचकित पारिदिने खालका छन्। मार्क्सको भाषामा निजी सम्पत्ति भनेर उत्पादनका साधनको स्वामित्वलाई बुझिन्छ। कसैको व्यक्तिगत सम्पत्ति, जस्तै गाडी वा घर पूँजी नै हो भन्ने हुँदैन। निश्चित अवस्थामा मात्र ती पूँजी हुन्। नत्र ती व्यक्तिगत सम्पत्ति हुन्। त्यही निजी सम्पत्ति अर्थात् पूँजीलाई इंगित गर्दै मार्क्स र एंगेल्सले कम्युनिस्ट घोषणापत्रमा लेख्छन्: “निजी सम्पत्तिलाई खत्तम गर्ने हाम्रो नियतदेखि तिमीहरू डराउँछौ। तर तिमीहरूको अस्तित्वमा रहेको समाजमा ९/१० जनताको निजी सम्पत्ति त पहिल्यै नै खत्तम भइसकेको छ; केही थोरैको हातमा यसको अस्तित्व ती ९/१० को साथमा यसको गैर-अस्तित्वकै कारणले मात्र हो……तिमीहरुको सम्पत्तिलाई खत्तम पार्ने हाम्रो नियतलाई तिमीहरू निन्दा गर्छौ। हो, हामी त्यही नै गर्न चाहन्छौँ।” (११)
तर मिश्रबाट हामी थाहा पाउँछौँ कि निजी सम्पत्तिलाई नाश गर्ने “दुष्कर्म” त ती दानव लेनिनको पो काम हो। बिचरा सन्त मार्क्स त निजी सम्पत्तिप्रति त विभक्त पो थिए। त्यतिमात्र होइन, मिश्र त यो पनि दाबी गर्नुहुन्छ कि मार्क्स बजारलाई पनि निकै माया गर्थे। बजारलाई निषेध गर्ने काम पनि त्यही दानव लेनिनको काम थियो। बजारको कुरा गर्दा मार्क्स आम रूपमा बजार होइन, पूँजीवाद अन्तर्गतको बजारको कुरा गर्छन्। पूँजीवादमा बजार भनेको उत्पादित वस्तुहरुको विनिमय (exchange) मार्फत अतिरिक्त मूल्य (surplus value) अर्थात् नाफासहितको मूल्य (value) ‘रीअलाइज’ (realize) हुने संयन्त्र (mechanism) हो। स्वभाविक रूपमा पूँजीवादपश्चातको समाजवादी समाजमा पूँजीवादसँगै पूँजीवादी बजारले पनि क्रमिक रूपमा आफ्नो अस्तित्व गुमाउँदै जान्छ। सोभियत संघ समाजवादी नभएर समाजवाद-उन्मुख संक्रमणकालीन समाज थियो र सुरुमा त्यहाँ हतारमा बजारलाई निषेध गरिएपनि जब यथार्थले टोक्न थाल्यो, बजारलाई पुन: अस्तित्वमा ल्याइयो। यसको अर्थ यो थिएन कि पूँजीवादी बजार सधैँ नै अमर हुन्छ, बल्कि यो थियो कि संक्रमणकालीन रुसमा बजारको उपयोगिता सकिसकेको थिएन। बोल्शेभिकहरुसँग समाजवादको निर्माणबारे कुनै ब्लुप्रिन्ट थिएन। समाजवादी समाज निर्माण गर्ने त्यो पहिलो प्रयास थियो। त्यसकारण बोल्शेभिकहरुका कतिपय गल्तीहरु स्वभाविक पनि थिए। मुख्य कुरा हामीले ती गल्तीहरुबाट पाठ लिने हो। तर त्यो पाठ भनेको मिश्रले भनेजस्तो बजारलाई माया गर्ने होइन, किनकि हामी पूँजीवादको अन्त्यको कुरा गर्छौँ भने पूँजीवादी बजारको सधैंभरी अस्तित्वमा रहिरहने कुरा गर्नु सबै तर्कको विपरीत हुन्छ। पूँजीवादजस्तै बजारले पनि आफ्नो ऐतिहासिक भूमिका पूरा गर्छ र बिदा हुन्छ। तर पूँजीवादको अन्त्य नगरी बरु यसलाई अझै हुर्काउनु पर्छ भन्ने आफ्नो विचारलाई बल दिन मार्क्सलाई पूँजीवादको पक्षधरको रूपमा प्रस्तुत गर्नुहुने मिश्रले उनलाई बजारको मात्र होइन, पूँजीवादका अन्य सबै पक्षको पनि समर्थकको रूपमा प्रस्तुत गरे अनौठो नमाने हुन्छ।
अझ वहाँको अर्को दाबी के पनि छ भने १९१७ अघि सामाजिक-लोकतन्त्रवादी (social-democrat) थिए भने १९१७ पछि एकाएक उनी कम्युनिस्ट भए। वहाँसँगको अन्तर्वार्तामा आधारित भनिएको एक लेखमा वहाँ यी दाबीहरु गर्नुहुन्छ। त्यसमा वहाँको कुरा स्पष्ट रूपमा उद्धृत नभएको हुनसक्छ तर यदि हो भने चाहिँ सामान्य ऐतिहासिक तथ्यसँग पनि वहाँ अनभिज्ञ हुनुभएको कुरालाई आश्चर्यजनक नै भन्नुपर्छ। हो, १९१७ अघि लेनिन एक “सामाजिक-लोकतन्त्रवादी” थिए। लेनिन मात्र होइन, ट्रट्स्की, रोजा लक्जम्बर्ग, कार्ल काउत्स्की, क्लारा जेट्किन्, प्लेखानोभ, मार्तोभ, बुखारिन, स्टालिन आदि सबै “सामाजिक-लोकतन्त्रवादी” नै थिए। तर ती सब अहिलेको अर्थमा बुझिने सामाजिक-लोकतन्त्रवादी (सोसियल डेमोक्र्याट) थिएनन्, जसको अधिकतम कार्यक्रम पूँजीवादको अन्त्य होइन त्यसमा केही लगाम लगाउने मात्र हुन्छ। त्यसबेला सबै खालका मार्क्सवादीले आफूलाई सामाजिक-लोकतन्त्रवादी भन्ने गर्थे र आफ्ना पार्टीका नाममा सामाजिक-लोकतन्त्रवादी राख्थे, साथै उनीहरूको अधिकतम कार्यक्रम मजदुर वर्गको सचेतन प्रयासमार्फत पूँजीवादको अन्त्य गर्दै समाजवादतर्फ अघि बढ्ने थियो। पहिलो विश्वयुद्ध सुरु हुँदा जर्मन लगायत धेरैजसो सामाजिक-लोकतन्त्रवादी पार्टीहरुले १९०८ को स्तुत्गार्त सम्मेलनमा आफैँले बनाएको संकल्प विपरीत आफ्ना बुर्जुवा सरकारलाई युद्धमा सहयोग गर्न र फलस्वरूप एउटा देशका मुख्यतः कामदारवर्गलाई अर्को देशका कामदारवर्गसँग जुधाउने अन्तर-साम्राज्यवादी युद्धमा मतियार बन्न पुगेपछि उक्त संकल्पमा अडिग रहन र अन्य पार्टीहरूबाट अलग रहेको देखाउन लेनिनले सामाजिक-लोकतन्त्रवादीबाट कम्युनिस्ट नामको प्रयोग गर्न थालेका हुन्। तर मिश्र भने यो विषयलाई यसरी प्रस्तुत गर्नुहुन्छ मानौँ पूँजीवादको अन्त्य होइन केवल त्यसको विकास गर्ने सोच भएका मार्क्सका अनुयायी “सामाजिक-लोकतन्त्रवादी” लेनिन एकाएक “कम्युनिस्ट” भएर पूँजीवादको अन्त्य गर्नतिर लागे र मार्क्सलाई लत्याए। मार्क्सको नाम लिएर तर वास्तवमा भने मार्क्सभन्दा धेरै पर पुगेर सिर्जित वहाँका नयाँ विचारलाई टेको दिन वहाँ ऐतिहासिक तथ्यलाई समेत बङ्ग्याउनुहुन्छ।
नेपालको पछौटे अवस्थाको हवाला दिई पूँजीवादका सकारात्मक पक्षमा मात्र जोड दिने मिश्र त्यसको विभत्स रुप र त्यसका असरहरुप्रति आँखा चिम्लन बाध्य हुनुहुन्छ। खाडी, चीन, भारत, बंगलादेशलगायतका देशमा २१औँ शताब्दीमा आइपुग्दा पनि मजदुरको अवस्थाले एंगेल्सको “१८४४ मा इंग्ल्याण्डमा श्रमिक वर्गको अवस्था” को झझल्को दिन्छ। उन्नत पूँजीवादी खाडी मुलुकमा नेपाली कामदारहरुको अवस्था कस्तो छ, त्यो कसैबाट लुकेको छैन। ती कामदारहरुले रगत-पसिना बगाएर पठाएको रेमिट्यान्सले नै अर्थतन्त्र धानेको छ भने राज्य चरित्र नै ठेकेदारको जस्तो रहेको छ। पश्चिमा देशहरुमा औद्योगिक मजदुरको संख्या घटे पनि अन्य क्षेत्रमा उनीहरूको स्थानान्तरण भएको छ। मार्क्सको व्याख्या अनुसार सर्वहारावर्ग भनेको केवल औद्योगिक मजदुर मात्र होइनन्। पहिलेको तुलनामा मजदुर वर्गले धेरै सुविधाहरु आफ्ना संघर्षहरु मार्फत प्राप्त गरेका छन्। तर साथसाथै ती उपलब्धीहरुको रक्षाको निम्ति अझै पनि संघर्ष गरी नै रहनुपरेको छ। त्यसैको निम्ति फ्रान्सेली मजदुर वर्ग अहिले सडकमा छन्। पश्चिमा राष्ट्रमा त वर्गसंघर्ष हालसालैको समयमा झनै बढ्दै नै गएको छ। तर मिश्र भने यी कुरालाई नजरअन्दाज गर्नुहुन्छ र झन् वहाँ त मजदुर वर्गको समाज परिवर्तन गर्ने जुन गुण र अभिभारा छ, त्यो अब नरहेको भनेर दाबी गर्नुहुन्छ। वहाँको नजरमा पूँजीवादको जुन भयानक रूप थियो, त्यो अब रहेन र वर्गहरुबीचका अन्तरविरोध बिस्तारै साम्य हुँदै जाँदैछ, जुन कुरा सही होइन भनेर जान्न धेरै संघर्ष गर्नुपर्दैन। वर्गीय सामिप्यता बढ्दै जाँदा वर्गसंघर्ष पनि साम्य नै हुँदै जान्छ। तर फेरि पनि वहाँको यो दाबी सत्यभन्दा टाढा रहेको कुरा बुझ्न धेरै टाढा जानुपर्दैन, हाम्रै छिमेकी चीन, बंगलादेश र भारत गए पुग्छ, जहाँ मजदुर वर्गको संघर्ष बढ्दो क्रममा छ। मार्क्सले भनेका थिए कि मानव इतिहास भनेको वर्गसंघर्षको इतिहास हो। तर मिश्रको लागि वर्गसंघर्ष साम्य हुँदै गएपछि शायद मानवको इतिहास पनि साम्य हुँदै फ्रान्सिस फुकुयामाले भनेझैँ इतिहासकै अन्त्य हुने दिशातर्फ छ। वहाँ एकातर्फ मजदुर वर्गको भूमिका समाप्त भएको दाबी गर्नुहुन्छ भने पूँजीवादी सत्ताधारी वर्ग, उनीहरुको वर्गीय स्वार्थ र आफ्नो राज्यसत्ताको रक्षाका निम्ति तिनले अपनाउने विभिन्न विधीहरुलाई पनि पूर्ण नजरअन्दाज गर्नुहुन्छ। अझ पूँजीवादको दीर्घायु देखेर वहाँ अब कम्युनिस्ट पार्टीहरुको कुनै आवश्यकता देख्नुहुन्न। तर वहाँको भाग्यवादी दर्शनलाई पछ्याउने हो भने कम्युनिस्ट मात्र होइन, सबैखाले पार्टीको अस्तित्वको कुनै औचित्य रहँदैन। पूँजीवाद वहाँले भनेजस्तै एउटा प्रोग्राम गरिएको सफ्टवेरजस्तै एउटा निश्चित अवस्थामा पुगेपछि आफैँ नै ओरालो लाग्छ र त्यसको निम्ति कुनै बाह्य कर्ताको पनि आवश्यकता पर्दैन भने समाजमा पार्टीहरुको पनि कुनै आवश्यकता नै रहँदैन। साथै वहाँले पूँजीवादमाथि लगाम लगाउनका निम्ति लोकतन्त्रको सहायता लिनुपर्छ भनेर भन्नुहुन्छ। तर यस विषयलाई जुन सहजताका साथ वहाँ प्रस्तुत गर्नुहुन्छ, लोकतन्त्रको वर्गीय स्वरूप र औपचारिक लोकतन्त्रका सीमाबारे मार्क्सकै शिक्षालाई बेवास्ता गर्न पुग्नुहुन्छ।
यसरी मिश्र मार्क्सका दुई सबैभन्दा महत्वपूर्ण कुराहरु, द्वन्द्ववाद र वर्ग/वर्गसंघर्षलाई तिलाञ्जली दिनुहुन्छ र आफुलाई मार्क्सभन्दा निकै टाढा पुर्याउनुहुन्छ। मार्क्सले भनेका थिए – “दार्शनिकहरुले संसारलाई अर्थ्याएका मात्र छन्; प्रमुख कुरा त्यसलाई बदल्ने हो।” मिश्रबाट भने हामी यो निष्कर्ष निकाल्न बाध्य हुन्छौँ – “लेनिनले जस्तो संसारलाई बदल्ने प्रयासहरू त धेरै भएका छन्; प्रमुख कुरा त त्यसलाई अर्थ्याउने मात्र हो।”
पूँजीवादको विभिन्न आवधिक संकटले निम्त्याउने आम दरिद्रता, बेरोजगारी र रुग्ण अवस्था भयानक हुन्छन्। हामी त्यससँग त्यति परिचित छैनौँ तर नेपाल पूँजीवादी विश्वसँग अझै जोडिँदै गएपछि यहाँ पनि त्यसका असर देखिन थाल्नेछ। अहिलेको अवस्थामा आइपुग्दा हाम्रो अगाडि पृथ्वी र मानवजातिको भविष्य नै दाउमा छ। परमाणु हतियारको त्रास छँदै छ। साथै पूँजीवाद रहेसम्म विश्वयुद्धको सम्भावना पनि सधैँ नै हुन्छ र हालसालै त यो युद्ध अब भोली कि पर्सीको कुरा हो भन्ने भान हुन्छ। अबको युद्ध पहिलेकोभन्दा निकै नै भयानक हुनेछ। त्यसबाहेक पनि मध्यपूर्वी र कतिपय अफ्रिकी मुलुक उन्नत पूँजीवादी मुलुकका क्रिडास्थल बनेका छन्। पूँजीवादकै कारण ‘ग्लोबल वार्म्मीङ’ र जलवायु परिवर्तनले तीव्रता पाएको छ। जोसेफ स्टिग्लीत्ज र थोमस पिकेटीजस्ता बुर्जुवा अर्थशास्त्रीहरु नै बढ्दो आर्थिक असमानतालाई लिएर चिन्तित भइरहेका छन्। संसारका सबै मानिसलाई पुग्नेभन्दा कैयौँ गुणा धेरै खाद्यवस्तुको उत्पादन हुन्छ तर पनि लाखौँ व्यक्ति भोकै मरिरहेका छन्। अमेरिका जस्तो उन्नत पूँजीवादी देशमा घरबारविहीनताको विकराल समस्या छ भने अश्वेत जातिका मानिस पुलिसद्वारा दिनानुदिन मारिइरहेका छन्। संसारभर उग्र-दक्षिणपन्थी तथा नव-फासीवादीहरुको पुनरोदय भइरहेको छ र यी सबले हामीलाई पनि असर गर्ने निश्चितै छ। रूसी अराजकतावादी मिखाइल बकुनिनले एकपटक भनेका थिए, “यदि भगवान अस्तित्वमा छन् भने पनि तिनको उन्मूलन गर्न आवश्यक छ।” एकैछिनलाई पूँजीवाद निश्चित समयपछि बिना कुनै बाहिरी प्रभाव आफैँ आफ्नो अन्त्यतिर लम्कन्छ भन्ने मिश्रको दाबीलाई मान्ने हो भने पनि अहिले हामी यस्तो अवस्थामा छौँ कि पूँजीवादको अन्त्य गर्नको निम्ति निकै ढिलो भइसकेको छ र हामी जति ढिलो गर्छौ, हामी आफ्नो अन्त्यलाई झन नजिक ल्याउँनेछौँ। सामान्य अवस्थामा पनि पूँजीवादको अन्तिम संकटलाई पर्खने होइन, हरेक संकटलाई अन्तिम संकटका रूपमा लिइ वस्तुस्थितिले जति आज्ञा दिन्छ, त्यतिसम्म वर्गसंघर्षलाई अघि बढाउने हो, न कि पूँजीवादी सत्ता अनन्तकालसम्म चलाएर बस्ने हो। यसको लागि त पूँजीपति वर्गका लागि हामीभन्दा राम्रा विकल्पहरू छन्। एन्टन पान्नाकुक भन्छन्: “मजदुर वर्गले अन्तिम विपदको अपेक्षा गरेर बस्ने होइन, बरु धेरै विपदहरुको अपेक्षा गर्ने हो, राजनीतिक – जस्तै युद्धहरु, र आर्थिक – जस्तै संकटहरु जो दोहोरिरहन्छन्, कहिलेकाँही नियमित रूपमा, कहिले अनियमित, तर जुन पूँजीवादको आकारको वृद्धिसँगै झन्झनै विकराल बन्दै जान्छ।” (१२)
सबै सामाजिक व्यवस्था जस्तै पूँजीवाद पनि एक अस्थायी व्यवस्था हो जुन कुनै न कुनै दिन अवश्यै यस धरतीबाट बिदा लिन्छ। तर त्यसको ठाउँमा समाजवाद वा अन्य कुनै उत्तम व्यवस्था नै आउँछ भन्ने कुनै ग्यारेन्टी छैन। त्यसको बदलामा कस्तो व्यवस्था आउने हो, त्यो हामी मानवजातिमा भर पर्छ र पूँजीवादी व्यवस्थामा आफ्नो विशिष्ट स्थानको कारण मुख्यतः मजदुर वर्गमा भर पर्छ। अन्य जन्तुभन्दा हामी यसप्रकार फरक छौँ कि हामी मानवसँग अन्य प्रजातिभन्दा धेरै विकसित मष्तिष्क छ र हामीले आफू वरपरको संसारलाई बुझ्ने वा त्यसमाथि भर पर्ने मात्र होइन, त्यसलाई बदल्न पनि जानेका छौँ। मार्क्स र मार्क्सवादको प्रस्थानबिन्दु नै यही हो।
तर मिश्र भने पूँजीवादको आलीशान स्वरूपमा केवल त्यसको वैभव देख्नुहुन्छ, त्यसको अर्को कुरूप पाटो देख्नुहुन्न वा देखे पनि त्यसलाई महत्व दिनुहुन्न। वहाँ पूँजीवादको चम्किलो बाहिरी रूप देखेर मोहित बन्नुहुन्छ तर मार्क्सवादी आलोचना (critique) को मुख्य उद्देश्य भनेको कुनै पनि वस्तुको बाहिरी रूपबाट सम्मोहित नभइ त्यसको भित्री मूलतत्व (essence) लाई बाहिर ल्याउने हो। मार्क्सले आलोचना गर्ने गरेको “भल्गर” (vulgar) विचारपद्धति र मार्क्सवादी पद्धतिबीचको फरक पनि यही हो।
दैनिक संघर्ष र आन्दोलनबाट टाढा रहेका (doctrinaire) हरुको मार्क्स कडा आलोचक थिए। सैद्धान्तिक ‘एब्स्ट्र्याक्सन’ (abstraction) भन्दा पनि मानवका वास्तविक जीवन र आन्दोलन उनको लागि महत्वपूर्ण थियो, जसको आधारमा मात्र सिद्धान्तहरुको विकास गर्न सकिन्छ। “पूँजी” को सन् १८७३ को जर्मन संस्करणको अंतभाषण (afterword) मा उनी लेख्छन्: “आफ्नो रहस्यमयी (mystical) रूपमा द्वन्द्ववादले जर्मनीमा फेशनको रुप लियो किनकि यसले रहिआएको अवस्थाको जयजयकार र महिमामंडन गर्थ्यो। आफ्नो तार्किक (rational) रूपमा बुर्जुवा व्यवस्था र यसका पांडित्याभिमानी (doctrinaire) प्रोफेसरहरूका निम्ति यो एउटा काण्ड (scandal) र घृणात्मक वस्तु (abomination) हो किनकि यसमा रहिआएको अवस्थाको सकारात्मक स्वीकारोक्ति र बोधका साथसाथै त्यो अवस्थाको निषेधको स्वीकारोक्ति, त्यसको अवश्यम्भावी विघटनको कुरा पनि समाहित छ; किनकि यसले ऐतिहासिक रूपमा विकसित हरेक सामाजिक रुपलाई तरल संचलनको रूपमा लिन्छ, र त्यसैले यसको अस्थायी प्रकृतिलाई यसको क्षणिक अस्तित्वभन्दा कम नभएको कुरालाई ध्यानमा राख्छ; किनकि यसले आफूमाथि कुनै पनि कुरा लादिन दिँदैन र आफ्नो मूलतत्व मै आलोचनात्मक र क्रान्तिकारी छ।” (१३)
प्रो. मिश्रले मार्क्सवादलाई पनि माथि मार्क्सले भनेझैँ रहस्यमयी रूप दिनुभएको छ। यस्तो मार्क्सवादलाई हामीले तर्कसंगत स्वरूप दिई यस्तो अवस्थामा पुर्याउनु जरुरी छ जहाँ यसले पूँजीवादको गुणगान मात्र गाउँदैन, यसका सीमा र यसका असरहरुलाई पनि उजागर गर्छ र यसको अन्त्य गर्नको निम्ति सक्रिय रूपमा लाग्छ। फेशनको रूपमा विकास गर्न खोजिएको “मार्क्सवाद” लाई “काण्ड” र “घृणात्मक वस्तु” बनाउन जरुरी छ।
References
(१) १०, जुन २०१४ मा The Kathmandu Post मा छापिएको एक लेखमा चैतन्य मिश्रले भन्नुभएको छ कि मजदुर आन्दोलन आँफैमा विभाजित र अव्यवस्थित भएकोले मार्क्सले भनेजस्तो पूँजीवादको प्रमुख शत्रुको रूपमा मजदुर वर्ग अब रहेन। अहिलेको विभाजित र अव्यवस्थित अवस्था देखेर वहाँ यो निष्कर्षमा पुग्नुहुन्छ कि मजदुर वर्ग सधैँ नै यस्तै रहिरहनेछ।
Mishra, Nepal and Capitalism http://kathmandupost.ekantipur.com/news/2014-06-10/nepal-and-capitalism.html
(२) Engels to J. Bloch, 21 September, 1890 https://www.marxists.org/archive/marx/works/1890/letters/90_09_21.htm
(३) Karl Marx, The Class Struggles in France, 1848-1850 https://www.marxists.org/archive/marx/works/1850/class-struggles-france/ch04.htm
(४) Engels to Marx, 24 September, 1852
https://www.marxists.org/archive/marx/works/1852/letters/52_09_24.htm
(५) Engels to Wedemeyer, 12 April, 1853 http://marxists.catbull.com/archive/marx/works/1853/letters/53_04_12.htm
(६) Marx to Engels, 26 September, 1856
https://marxists.catbull.com/archive/marx/works/1856/letters/56_09_26.htm
(७) Marx to Engels, 8 December, 1857 https://marxists.catbull.com/archive/marx/works/1857/letters/57_12_08.htm
(८) Michael Roberts, The US Rate of Profit 1948-2015 https://thenextrecession.wordpress.com/2016/10/04/the-us-rate-of-profit-1948-2015/
(९) Andrew Kliman, Harvey vs. Marx on Capitalism’s Crisis Part 1: Getting Marx Wrong http://www.newleftproject.org/index.php/site/article_comments/harvey_versus_marx_on_capitalisms_crises_part_1_getting_marx_wrong
Harvey vs. Marx on Capitalism’s Crisis Part 2: Getting Profitability Wrong http://www.newleftproject.org/index.php/site/article_comments/harvey_versus_marx_on_capitalisms_crises_part_2_getting_profitability_wrong
David Harvey, Capital’s Nature: A Response to Andrew Kliman http://www.newleftproject.org/index.php/site/article_comments/capitals_naturea_response_to_andrew_kliman
Andrew Kliman, Harvey vs. Marx on Capitalism’s Crisis Part 3: A Rejoinder http://www.newleftproject.org/index.php/site/article_comments/harvey_versus_marx_on_capitalisms_crises_part_3_a_rejoinder
(१०) Marx and Engels, Manifesto of the Communist Party, Preface (1882) https://www.marxists.org/archive/marx/works/1848/communist-manifesto/preface.htm
११) Marx and Engels, Manifesto of the Communist Party https://www.marxists.org/archive/marx/works/1848/communist-manifesto/ch02.htm
(१२) Anton Pannekoek, The Theory of Collapse of Capitalism https://www.marxists.org/archive/pannekoe/1934/collapse.htm
(१३) Marx, Capital: Volume 1, Afterword to the Second German Edition https://www.marxists.org/subject/dialectics/marx-engels/capital-afterward.htm